Friday, April 1, 2011

कालापानी पुग्ने इच्छा अधुरै

कालापानी पुग्ने इच्छा अधुरै

एकजना नेपाली पत्रकारले आफ्नै देशको भूमीमा जान पाएनन्, भारतीयहरुको अवरोधका कारण । दुखको कुरा, उनी भन्छन्, सीमामा बसेका नेपाली अधिकारीहरुले नै भारतीयहरुलाई सघाएका थिए ।
By बिष्णु देवकोटा  
तस्बिरहरु-बिष्णु देवकोटा 
‘उहाँ नै हो कालापानी जाने तयारीमा रहेको पत्रकार,’ एक सुरक्षाकर्मीले मलाई औल्याउदै गर्दा अर्का अपरिचितले मेरो हात बेस्सरी च्यापे । ‘म भारतीय खुफिया एजेन्सी ‘र’ मा काम गर्छु,’ उनले परिचय दिए । कालापानी जाने सुरमा रहेका बेला ती भारतीयले थप प्रश्न मेरा अगाडी तेर्स्याए, ‘तपाई कालापानी कहिले जाने ? त्यहाँ जान पाईदैन नी । गएर पो के गर्नु हुन्छ ?’ उनको चासोले म अचम्मित बनें । म कालापानी जान खोज्नुको खबर उ कहाँ कसरी पुग्यो ? उसले यति चासो लिनुको कारण के होला ? कतै बाटोमा रडाको मच्चाउने पो हो की ? आदि प्रश्न मनमा खेलिरहे । ‘सकभर यस्तो मौसममा नजानु होला,’ भन्दै भारतीय जासुसले नेपाल छाडे । ‘आउँदै गर्नु होला,’ हाँस्दै हाम्रा सुररक्षाकर्मीले बिदाई गरे । तिनको हाँसो नेपाली राष्ट्रियताका निम्ती घातक लाग्यो ।
a journey to darchula but not to kalapani in nepal
मौसम चिसिदै गएको थियो । ‘हिउँ पर्न थाली सक्यो,’ ताक्लाकोटबाट फर्किने भरिया ब्याँश क्षेत्रको मौसमी खबर बताउँदै थिए । कालापानी जाने निधो गरे । तर कुन बाटो भएर जाने ? आफ्नै भुमी भएर जाउँ भने हिम पहिरोले बाटाघाटोको निसानै नभएको स्थिती । भारतीय भूमी भएर जान अनुमतीपत्र चाहिने । बाटो प्रयोग गर्न नदेला भन्ने चिन्ता । लागे धार्चुला स्थित उप जिल्ला अधिकारीको कार्यालयतीर ।
a journey to darchula but not to kalapani in nepal
‘कहिले सम्म तल माथिगरि रहन्छौ ?’ एक कर्मचारीले हप्काइन । सीमा प्रशाशनको सिफारिस फाल्दिइन । ब्याश जान अनुमती लिन अरु पनि नेपाली आएका थिए । कार्यालयबाट बाहिर निस्किनु भनिन ।
अर्को दिन कालापानी तिर हान्नीदा बाटोमा भेटिए पोलियो थोपा खुवाउन ब्यांश हिंडेका स्वास्थ्यकर्मीहरु । उनीहरु छाङरु र तिङकरका बासिन्दा थिए । कालापानी बारे जिज्ञासा राख्न थाल्दा मौन रहन्थे । ‘भारतीय सुरक्षाकर्मीले सुने नराम्रो हुन्छ’ भन्दै कुरा नगर्न आग्रह गरे ।
a journey to darchula but not to kalapani in nepal
बुँदी पुग्नु अगावै रात पर्यो । बाश बस्न बनाइएका कप्टेरामा भित्र पट्ट ित के बाहिर पनि पलेटी मारेर बसेका थिए मान्छेहरु । ‘बुँदी गाउँ पुगे त बाशको समस्या छैन ‘ साथमा रहेकाहरु भन्दै थिए । अरुलाई बिस्तारै आउन आग्रह गर्दै ब्यांश स्वास्थ्य केन्द्रका पियन बीरसिंह ठगुन्ना संगै सौका समुदायका दुई युवती र म अघि बढ्यौं ।
बासको ब्यवस्था सौकेनीका युवतीले गरे । भारत पट्टी पनि सौका समुदायकै बस्ती । ‘पहिले यिनिहरु पनि नेपालकै हुन, पछि सुबिधा पाए पछि बसाइ सरेका’ खानु अघि बासको पहल गर्ने युवतीले भनिन् । ‘के गर्ने हाम्रा बाजेले भारतमा बर्साई र्सन नमान्दा अहिले कष्टकर जीवन जिउनु परेको छ,’ अर्कीले दुखेसो पोखिन् । ‘लौ भात खान झर्नुस्’ भुइतला बाट बोलावट भयो । ‘दाल पकाइन, चाउचाउको झोल सित खानु पर्ने भो’ भात पस्किदै होटेलका साहुले भने ।
a journey to darchula but not to kalapani in nepal
भोलिपल्ट झिसमिसेमै शुरु भयो यात्रा । तीन किलोमिटर ठाडो उकालो चढ्नु पर्ने । पाइलै पिच्छेको कडा सुरक्षा निगरानी । उकालोमा घोडामा सवार सुक्षाकर्मीको लाम । ‘तपाईको परिचय पाउँ’ सामान्य पहिरनमा उकालो चढेदै गरेका ब्यक्तिले हिन्दीमा सोधे । ‘म त ब्यापारी हो, ताक्लाकोट मजदुरी गर्न हिंडेको’ मैले लरबराउँदै उत्तर दिए । ‘नढाँट्नुस्, तपाई पत्रकार होइन ?’ उनले झट्ट भनिहाले । ‘कडा सुरक्षा निगरानी बारे थाहा पाउँदा छक्क परे ।
‘छिया लेक’ पुगियो । करिब दश हजार फिट उँचाइमा छ यो ठाउँ । पारीपट्टी नेपालतीर ७ हजार १ सय ३२ मिटर अग्लो ‘अपी’ हिमाल । ‘सानो कैलाश’बाट फर्केका पर्यटक अपीको मनोरम दस्य क्यामरामा कैद गर्न ब्यस्त थिए । यहाँ भारत तिब्बत सीमा प्रहरीको सातौं बटालियन कार्यरत रहेछ ।
a journey to darchula but not to kalapani in nepal
अनुमतीपत्र नबनाए बाटो बाटै फर्काइदिने गरेका घटना सुन्दा सुन्दै गर्ब्याङ पेगेको पत्तै भएन । ‘अब कडा चेकपोष्ट आउँदै छ,’ ब्याश स्वास्थ्य चौकीका ग्रामिण स्वास्थ्य कार्यकर्ता भजनसिंह ऐतवालले सजग पारे । ‘कर्मचारी सर्मचारी जो भए पनि यतै बाट फर्किनुस्,’ स्वास्थ्यकर्मीले सैनिकको हप्की खानु पर्यो । ‘तिमी जान पाउदैनौ, यतै बाट फर्किहाल,’ इन्ट्री गर्ने रजिस्टर बन्द गर्दै हप्काए । ‘वहाँ हाम्रो हाकिम साहेब हो,’ पियन बीरसिंह ठगुन्नाले कार्ड राम्ररी हेर्न नपाउँदै झट्ट भनिहाले । ‘ए ल जानुस्, हाकिम भए नि अर्को पटक नियमको पालना गर्नुस् ।’ अगाडी बढ्ने अनुमती पाइयो ।
सितापुल पुगियो । स्थानिय आफैले बनाएको पुल । यो पनि गत बर्षमाओवादीले काटेर फालेको । ‘मुश्किलले बनाएको’ भजन काकू भन्दै थिए । महाकाली नदी तरेपछि दर्ुइ दिन पछि बल्ल स्वतन्त्रताको सास फेर्न पाइयो ।
छाङरु गाउँ पुग्नु अगावै माओवादीको सेन्टिपोष्ट तीर लागे । तर रित्तो थियो । गत बर्षउनीहरुले मलाई कब्जामा लिएको ठाउँ थियो यो । शान्ति समझौता पछि उनिहरु यहाँ बस्न छाडेका रहेछन् । पोहोर यही पोष्टबाट माओवादीले भारतीय सुरक्षाकर्मीलाई जिस्क्याउने गर्थे । गाउँमा सबै उवा र नप्पल थन्क्याउनमै ब्यस्त । ‘ए यसपाली पनि माओवादीले कब्जामा लिने भए तपाईलाई’ परिचितले जिस्क्याए । ‘यसपाली कालापानीको खोरमा कति दिन बस्नु पर्ने हो, हेर्दै जाउँ’ छाङरु पुग्नुको कारण ज्ञात भए पछि उनिहरुले निरास पारे । ‘कालापानी नचुमीकन म दार्चुला सदरमुकाम फर्किदैन, बरु महिनौं दिन कुर्नु किन नपरोस’ अठोट बताए ।
a journey to darchula but not to kalapani in nepal
गाउँमा बाश बस्न अप्ठयारो । महिला र बुढापाका मात्र घरमा । अरु सबै ब्यापार गर्न तिब्बतको ताक्लाकोट । साथमा आएका स्वास्थ्य चौकीका पियनले बाश बस्न गागाबगर लगे । ‘कालापानी गएर तपाई के पाउनुहुन्छ ?’ परिचय पछि माओवादी कमाण्डर भन्दै गए- ‘तपाइले लेख्दैमा नेपाली भुमी फिर्ता हुन्छ ? कालापानी पुग्दैमा भारतीय सुरक्षाकर्मी त्यहाँबाट हट्छन ? सुरक्षाक्याम्प हटाउन सक्ने हिम्मत तपाईमा छ ?’ कमाण्डरका साथमा रहेका छापामार एकहोरो रुपमा प्रश्न गर्न थाले ।
बिगतमा ‘कालापानीमा भारतीय सैनिक सित लड्न तयार हुनुपर्छ’ भन्दै आएका माओवादीको बोली फेरीयो । उनीहरु भन्नलाई थाक्दैनन्- ‘हाम्रो सरकार आउनु पर्यो हामी भारतीय सेनालाई कालापानीबाट लखेट्छौं ।’ तर वास्तविकता यहाँ आए पछि मात्र थाहा हुन्छ ।
दिन बित्दै गए । तर कालापानी वर सम्म पुग्नलाई सहयोग गर्न कोही तयार नहुने । भारतीय बाटो प्रयोग गर्न सेनाको चौबिसै घण्टा चौकसी । नेपालतीर जङगल र पहिरो मात्रै । एक्लै जान बाघ भालुको डरत्रास । हप्ता दिन बित्यो छाङरु गाउँमै । अचानक कालापानीमा मजदुरी गर्दै गरेका दार्चुलाकै युवाहरु भेटिए । ‘नेपालतीर थप बङकर बन्दै छन, पानीघट्टबाट बिजुली निकाल्ने काम भैरहेको छ ।’ भारतले कालापानी लगायतको नेपालसितको सीमामा भारत-तीब्बत सीमा प्रहरीको सट्टा सीमा सुरक्षा बल खटाउने निर्णय गरे पछि त्यहाँ थप बङकर बनाउन थालेको रहेछ । मजदुरी गर्ने सबै नेपाली ।
a journey to darchula but not to kalapani in nepal
‘कसरी पुग्ने कालापानी ?’ प्रश्न गरे । ‘हामी संगै मजदुरी गर्न हिंड्नुस्, सबै देख्न पाउनुहुन्छ, पत्रकार हो भन्ने थाहा पाए पछि खोरमा हाल्छन,’ उनीहरुको जवाफ थियो ।
आखिरी एक्लै जानु पर्ने स्थिती आयो । लक्ष्य प्राप्ती गर्न तीन दिन हिंडेर आएको । त्यत्तिकै फर्किन सकिन । स्वास्थ्यका पियन साथमा लिई कालापानी तीर लागे । कुनै बेला मानसरोवर जान बनाएको घोडेटो बाटोको निसानै थिएन । तल्लो कव्वा पुग्नु अगावै पहिरो बाधक । तर ज्यान जोखिममा पार्दै पहिरो पार गरियो । मेरो मनसाय अझै अगाडी बढ्ने । ‘तपाइ त पत्रकार, समाते पनि छाडि हाल्छन, मेरो गती के होला ?’ ठगुन्ना एक्लै छाड्न तयार । लक्ष्य पुरा नहुने स्थितीले निराशा मात्रै । यसरी कालापानी चुम्न नपाउँदै दुबै जना तीन घण्टा वरको छाङरु गाउँ फर्किन बाद्य भर्यौं । यसरी कालापानी चुम्ने इच्छा अधुरै रहन गयो ।

No comments:

Post a Comment

Popular Posts