Showing posts with label *****. Show all posts
Showing posts with label *****. Show all posts

Friday, April 1, 2011

‘मैले देखेको दरबार’ विकिलिक्सको नेपाली संस्करण

‘मैले देखेको दरबार’ विकिलिक्सको नेपाली संस्करण

07JAN
-बिष्णु देवकोटा 
‘के गर्ने सोच छ?’ ३५ वर्षे सैनिक सेवाबाट राजिनामा दिएको केही दिन पछाडि नेकपा (एमाले) का नेता केपी ओलीले पूर्व सैनिक सचिव तथा रथी विवेक कुमार शाहलाई सोधेका थिए।
२०६० कात्तिक २१ गते राजिनामा दिएका उनको जवाफ थियो, ‘व्यक्तिगत जीवन बिताउँछु।’
‘किताब लेख्नोस्,’ ओलीले सम्झाए।
‘किन?’
ओलीलाई किताब लेख्छन् जस्तो लागेनछ क्यार, थपे, ‘सुचना संकलन गर्नोस्, छोराछोरीले निकाल्छन्।’
‘लेख्दिन,’ विवेकले सम्वाद टुङ्गाए।
ओलीबाट त उनी पर भए तर आफन्तको घेराबाट सकेनन्। एउटै आग्रह गर्थे – किताब लेख्नोस्। केही सञ्चारकर्मीले पनि उनलाई जोस्याए। अन्ततः उनी बाध्य भए, किताब लेख्न। आफ्नो ३५ वर्षे सेवा अवधिमा २५ वर्ष राजा विरेन्द्रको सुरक्षामा खटिएका विवेकले डायरी लेख्ने आफ्नै बानी सम्झेर दङ्ग परे जब भेटे पुराना ६ वटा डायरी।
‘३५ वर्षको गर्भधारण (सेवा अवधि),’ उनले थपे, ‘१८ महिनाको प्रसव पिडा (किताब लेख्न लागेको समय) बाट जन्मेको हो – मैले देखेको दरबार।’
सन्तान कस्तो जन्मियो होला त?
‘सन्तान राम्रो/नराम्रो कस्तो जन्मियो भविष्यले निर्धारण गर्ला,’ आफ्नै पुस्तकबारे आयोजित समिक्षा तथा अन्तरक्रिया कार्यक्रममा बुधबार (पुस २२) उनले पुस्तकको भविष्य पाठक, समालोचक, इतिहासविद, विष्लेषक आदिका हातमा सुम्पीएको घोषणा गरे।
*********
समिक्षा गर्न तम्सिएका नेपाल सरकारका पूर्वसचिव द्धारिकानाथ ढुङ्गेलका अनुसार दरबार (तत्कालिन नाराहिटी राजदरबार) ‘डार्क होल’ थियो। त्यहाँ भित्र जे जस्ता घटना हुन्थे ति सबै त्यही भित्र हराउँथे। विवेकले पुस्तक मार्फत डार्क होललाई जनसमक्ष ल्याईदिएको तर्क ढुङ्गेलको थियो। ‘अरुले यो सत्य छैन भनेर नकाटुन्जेल किताबमा समेटिएका कुरा सत्य हुन्,’ प्रकाशनपूर्व नै निकै विवादमा तानिएको पुस्तक ‘मैले देखेको दरबार’ बारे ढुङ्गेलले आफ्नो धारणा राखे।
जबसम्म पुस्तक भित्रका कुरा काट्नेगरी अन्य तर्क बाहिर आउँदैनन् तबसम्म लेखक पुस्तकमा इमान्दार देखिने बुझाई उनको थियो। सैनिक सेवाबाट राजिनामा दिए लगत्तै पुस्तक किन लेखे? कसका हितको लागि लेखे? भन्ने प्रश्न भने सधै लेखकको अगाडि आईरहने ढुङ्गेलले बताए।
‘पुस्तकलाई विकिलिक्सको नेपाली संस्करण भन्दा हुन्छ,’ दरबारभित्र र बाहिर भएका बिभिन्न घटनाको रहस्योद्घाटन गरिएको भनिएको पुस्तकबारे ढुङ्गेलले भने, ‘सत्य र तथ्यको मूल्याङ्कन स्वयम पाठकले गर्नेछन्।’ दरबार, राजा र राजपरिवार, मन्त्री, नेताका बारे बनाईएको एउटा विश्वास पुस्तक पढेपछि फेरिने उनको तर्क थियो।
‘पुस्तकका सबै पात्र (पत्रकारदेखि राजासम्म) केही न केही माग्दै छन् र माग्दा हस्तक्षेत्र आउँछ भन्ने बुझेका छैनन्,’ पुस्तक पढेपछि बनाएको धारणा राजनीतिक विष्लेषक सौरभले भने, ‘दरबार मित्रको खोजी होइन सधै दासको खोजिमा रहेको देखिन्छ।’
पुस्तकमा उल्लेख गरिएझै नेपालसँग कुनै सम्बन्ध नै नभएका राष्ट्रले नेपालको आन्तरिक मामलामा रुची देखाउनु, सहभागी हुन खोज्नु जस्ता कार्यले अहिलेसम्म पनि निरन्तरता पाउनु संयोग हो या नियोजित निर्क्योल गर्नुपर्ने धारणा सौरभको थियो।
पुस्तक लेखेर लेखकले ठूलो खतरा मोलेको भनाई वरिष्ठ पत्रकार युवराज घिमिरेको थियो। उनले बुझाई थियो, ‘पुस्तकमा थुप्रै घटना समेटिएको छ। सम्भावित प्रतिक्रियाको सामना गर्न लेखक तयार रहनुपर्छ।’
‘मैले देखेको दरबार’ लाई पुस्तकको रुपमा भन्दा पनि डायरीका रुपमा हेरिनु पर्ने घिमिरेको धारणा थियो। डायरीमा आफ्ना बुझाई र मान्यताहरु लेखिने भएकोले कतिपय अवस्थामा यी सत्यभन्दा टाढा रहने तर्क उनको थियो। आफ्ना कार्यलाई नलेखी अर्काका कुरामात्र पुस्तकमा समेट्दा पुस्तकको विश्वसनीयतामाथि नै प्रश्न उठ्ने बताउँदै घिमिरेको सुझाव दिए, ‘आउँदा दिनमा कुनै न कुनै रुपमा ती कुरा समेट्दा राम्रो हुन्छ।’
‘सरकारी सेवाबाट अवकास प्राप्त व्यत्तिले सेवा अवधिमा भएका गोप्य कुरालाई बाहिर ल्याउनु कत्तिसम्म उचित हुन्छ,’ घिमिरेले भने, ‘पुस्तकले लेखकसामु नै नैतिक प्रश्न सुम्पीएको छ।’ पुस्तकमा समेटिएका विभिन्न देशका राजदूतहरुको भनाईले आउँदा दिनमा ती देशसँग नेपालको द्धिपक्षीय सम्बन्धमा कुनै असर गर्छ कि गर्दैन भन्नेतर्फ लेखक गम्भिर नभएको आरोप घिमिरेको थियो। यति हुँदाहुँदै पनि पुस्तक ‘जनताको सम्पत्ति’ भएको ठहर घिमिरेको थियो।
*************
‘तिमीले आफ्नो देशेको ऋण तिर्यौ,’ पुस्तक प्रकाशन गर्नुको कारण बताउन उनले आफ्नो हजुरबुबाले हालै भनेको भनाई सापट लिए। पुस्तक निस्केको थाहा पाएपछि उनलाई हजुरवुबाले थप केही भने, ‘आफ्नो सुरक्षाको ख्याल गर।’
‘लाग्यो भन्छन् चैत महिना पलाएछ पाति, नमिलेको घरबार भन्दा नमिलेकै जाती’ तत्कालीन राजा ज्ञानेन्द्रले टेलिफोनबाट राजिनामा माग्दा विवकलाई यही लोकगित सुनाउन मन लागेको थियो रे। उनले ज्ञानेन्द्रलाई भनेका पनि थए रे, ‘संसारमा राम्रा र मिठा कुरा गर्ने धेरै हुन्छन्, तिता र सत्य बोल्ने कम हुन्छन् र तिता र सत्य कुरा सुन्न सक्ने अझ कम हुन्छन्।’ ‘मैले देखेको दरबार’ लाई सायद उनी यही कडिमा राख्न चाहन्छन्।
 

Popular Posts