बरुण चौधरी भन्छन्- नेपाली सिमेन्टमा उपभोक्ताको विश्वास बढेकोछ
२०७१ साउन २९ गते १२:३९ मा प्रकाशित
२९ साउन, काठमाडौं । नेपाली सिमेन्टप्रति उपभोक्ताको विश्वास किन बढ्न सकेन ? चौधरी ग्रुपका कार्यकारी निर्देशक वरुण चौधरी यो प्रश्नप्रति सहमत छैनन् । उनी भन्छन्- पक्कै पनि केही समय अघिसम्म उपभोक्ताहरु नेपाली सिमेन्टप्रति कम विश्वस्त थिए । तर, अहिले समय परिवर्तन भएको छ । नेपाली उपभोक्ताहरुको नेपाली सिमेन्टप्रति हेर्ने दृष्टिकोणमै परिवर्तन आएको छ । उनीहरुले पछिल्लो समयमा नेपाली सिमेन्टको गुणस्तरमा आएको सुधारलाई सकारात्मक रुपमा ग्रहण गरिरहेका छन् ।

एक्काईशौं सताब्दीका उपभोक्ता गुणस्तरप्रति निकै सचेत छन् । अझ सिमेन्ट जस्तो संवेदनशिल वस्तुको गुणस्तरप्रति उनीहरुको सरोकार उच्च छ । ‘जिवनमा एकपटक निर्माण गरिने घर दिर्घकालका लागि होस् भनेर सोच्नु प्रत्येक उपभोक्ताको अधिकार हो । सिजी सिमेन्ट उपभोक्ताको यहि सोंचलाई सम्मान गर्दछ’, कार्यकारी निर्देशक वरुण भन्छन्, ‘आम उपभोक्ताले सिजी सिमेन्टप्रति गहिरो विश्वास ब्यक्त गर्नुको कारण पनि यहि नै हो । आज नेपाली उपभोक्ताले अन्तर्राष्ट्रिय गुणस्तरको सिजी सिमेन्ट आफ्नै घर आँगनमा प्राप्त गर्नु भएको छ ।’
कार्यकारी निर्देशक वरुणले अन्तर्राष्ट्रिय गुणस्तर मापदण्डमा सिजी सिमेन्ट उत्पादन भईरहेको बताए । ‘आज अन्तर्राष्ट्रिय सिमेन्ट बजारमा जुन गुणस्तरको मापदण्ड कायम गरिएको छ, सिजी सिमेन्ट सोही मापदण्डमा नेपाली बजारमा उपलब्ध छ’, वरुणले भने, ‘यसैको परिणाम स्वरुप नेपाली उपभोक्ताले भारतीय सिमेन्टको विकल्प सिजी सिमेन्टलाई बनाउन तयार भएका हुन् ।’
अन्तर्राष्ट्रिय गुणस्तरका कारण सिजी सिमेन्ट अहिले देशका ठूला पूर्वाधार आयोजनाहरुमा प्रयोग भईरहेको छ । र, यस्ता आयोजनाहरुमा सिजी सिमेन्टको माग बढ्दो छ । विगतमा पूर्वाधार निर्माणका ठूला आयोजनाहरुमा नेपाली सिमेन्ट प्रयोग गर्न आयोजना निर्माणकर्ताहरु हच्किन्थे ।
‘नेपाली सिमेन्टप्रति अन्तर्राष्ट्रिय निर्माण कम्पनीहरुको दृष्टिकोणमा पनि ब्यापक सुधार आएको छ । कारण के हो भने आजको दुनियाँमा सिमेन्ट कुन देशमा बनेको हो भन्ने कुराको केही अर्थ छैन । सिमेन्ट कुन गुणस्तरमा उपलब्ध छ भन्ने कुराले मात्रै अर्थ राख्छ ।’ कार्यकारी निर्देशक वरुणले भने, ‘नेपालमा उच्च गुणस्तरको सिमेन्ट उत्पादन गर्न सम्भव छ र सिजी सिमेन्टमार्फत् हामीले त्यो काम गरेर देखाएका छौं ।’
अहिले पनि नेपालमा अस्वस्थ प्रतिस्पर्धाका लागि कम गुणस्तरको सिमेन्ट उत्पादन गर्ने र सस्तो मुल्यमा विक्रि गर्ने परम्पराको अन्त्य भईसकेको भने छैन । सिमेन्टमा क्रसरको धुलो, अप्रसोधित चुन ढुङ्गा र स्लाग मिसाई गुणस्तरमा खेलबाड गर्ने र सस्तो मुल्यमा बिक्रि गर्ने प्रवृत्तिले नेपाली सिमेन्टको सुधि्रदै गएको छविमा भने नकारात्मक असर पुग्न सक्ने खतरा छ ।
मूल्यको प्रतिस्पर्धामा सामेल हुन तोकिएको मात्राभन्दा बढि फ्लाई एस मिश्रण गरि सस्तो सिमेन्ट उत्पादन गर्ने सोंचले पनि स्थापित हुदै गएको नेपाली ब्राण्डको सिमेन्टलाई नै दिर्घकालिन रुपमा नकारात्मक असर पुर्याउन सक्छ ।
‘हामी मूल्यको प्रतिस्पर्धामा सहभागी बन्नै चाहदैनौं । हाम्रो एकमात्र लक्ष्य नेपाली उपभोक्तालाई अन्तर्राष्ट्रिय गुणस्तरको सिमेन्ट उपलब्ध गराउनु हो ।’ चौधरी ग्रुपका कार्यकारी निर्देशक वरुणले भने, ‘हामी आफ्नो लक्ष्यमा अलिकति पनि विचलित हुनेछैनौं । हामीलाई थाहा छ, उच्च गुणस्तर नै नेपाली उपभोक्ताको रोजाई हो ।’